एडिलेड, अष्ट्रेलिया । एडिलेड रहेका नेपाली समुदायमा आपसी चिनजान, सहयोग र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले अभिभावक–विद्यार्थीका लागि आयोजना गरिएको एकदिने निःशुल्क अवलोकन भ्रमण उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। स्थानीय समाजसेवी तथा ‘रेड राइनोज क्लब’का अध्यक्ष हेम श्रेष्ठको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट भ्रमणमा आउनुभएका अभिभावक तथा नयाँ आएका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहान ८ बजेदेखि शहरका विभिन्न तीन स्थानबाट सहभागीहरूलाई सवारीसाधनमार्फत संकलन गरी भ्रमण आरम्भ गरिएको थियो। त्यसक्रममा टोलीले Mount Lofty को मनमोहक दृश्य अवलोकन गर्दै Hahndorf को ऐतिहासिक तथा सांस्कृतिक महत्व अनुभव गर्यो। त्यसपछि Murry bridge हुँदै Victor Harbor पुगेर समुद्री वातावरणको आनन्द लिँदै पुनः फर्किएको थियो।
भ्रमणको क्रममा सहभागी अभिभावकहरूले नाचगान, दोहोरी, हँसी–मजाक तथा सामूहिक संवादमार्फत रमाइलो वातावरण सिर्जना गरेका थिए। यस्ता गतिविधिले विदेशको नयाँ परिवेशमा रहेका अभिभावकहरूबीच घुलमिल हुन, अनुभव आदानप्रदान गर्न र आपसी सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ थियो। धेरैले “यस कार्यक्रमले यहाँ रहेका अन्य नेपाली अभिभावकहरूलाई चिन्ने र सम्बन्ध विस्तार गर्ने अमूल्य अवसर प्रदान गर्यो” भन्ने धारणा व्यक्त गरेका छन्।

आयोजक हेम श्रेष्ठले यस्ता पहलले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र आत्मीयता मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। “एक महिना अगावै सूचना प्रकाशन गरिए तापनि केही अभिभावक छुट्नुभएको महसुस भएकोले छिट्टै नै पुनः यस्तै कार्यक्रम आयोजना गर्ने तयारीमा छौं,” उहाँले बताउनुभयो।
कार्यक्रमलाई एनपी मोटर र साथी टिभीले विशेष सहयोग प्रदान गरेको थियो। भने साथी टिभीका निर्देशक तथा पत्रकार विकास पौडेल स्वयं फिल्डमै सक्रिय रूपमा खटिँदै अभिभावक तथा विद्यार्थीहरूलाई सहजता प्रदान गरेका थिए।
भ्रमणमा सहभागी अभिभावक मणि कार्कीले कार्यक्रमलाई अत्यन्तै फलदायी, स्मरणीय तथा उपयोगी बताउँदै आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिनुभयो। कार्यक्रममा सहभागीहरूका लागि हलुवा, सेलरोटी, तरकारी, अचार तथा तातो चियाको व्यवस्था गरिएको थियो, जसले नेपाली मौलिक स्वाद र संस्कृतिको झल्को प्रस्तुत गरेको थियो।
उक्त कार्यक्रमले नयाँ आएका विद्यार्थी र अभिभावकहरूलाई मानसिक रूपमा सहज बनाउँदै समुदायसँग नजिक बनाउने महत्वपूर्ण सेतुको काम गरेको सहभागीहरूको निष्कर्ष रहेको छ। यस्तो सकारात्मक पहलले एडिलेड रहेका नेपाली समुदायमा सामाजिक सद्भाव, सहयोग र सहकार्यको भावनालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।


तपाइँको प्रतिक्रीया