२०८३ जेठ २१ बिहीबार

एनआरएनलाई राष्ट्रपतिको आह्वान: नेपालमा लगानी बढाउन आग्रह

  • admin २०८२ चैत २३ सोमबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई आह्वान गर्नुभएको छ। सोमबार शीतल निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा उहाँले विदेशमा रहेका नेपालीले आफू बसेको देशका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो।

उहाँले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना–सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक विकासका लागि पूर्वाधार विस्तार, औद्योगिकीकरण र आन्तरिक उत्पादनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो। बहुपक्षीय साझेदारीमार्फत एनआरएनहरूले आर्जेको पूँजी, सीप, ज्ञान र अनुभव नेपालका लागि उपयोगी हुने उहाँको भनाइ थियो।

राष्ट्रपति पौडेलले सुशासन र सामाजिक न्यायमार्फत समृद्धि हासिल गर्न अहिलेको जनादेश आएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यता आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो। साथै, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटन केन्द्र बनाउने पहलमा एनआरएनको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नव-निर्वाचित नेतृत्वलाई बधाई दिँदै संस्थालाई विश्वभरका नेपालीको साझा मञ्चका रूपमा अझ सशक्त बनाउन सफलताको शुभकामना व्यक्त गर्नुभयो। सो अवसरमा अध्यक्ष डा. हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे जानकारी गराउनुभएको थियो।भेटमा उपाध्यक्ष दीनेस पोखरेल , रोजिना प्रधान राई , प्रबक्ता सोम सापकोटा लगायतले आआफ्ना जीज्ञासा राखेका थिए ।