सिड्नी। अष्ट्रेलियाको न्यूक्यासलमा रहेका नेपालीहरूको साझा संस्था नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। हालै सम्पन्न सहमतिमूलक प्रक्रियामार्फत गठन गरिएको नयाँ कार्यसमितिको अध्यक्षमा भवेश भट्टराई चयन भएका छन्।
न्यूक्यासल क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएको उक्त संस्थाले सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व चयन गरेको हो। यसलाई समुदायभित्रको आपसी समझदारी, सहकार्य र एकताको उदाहरणका रूपमा समेत हेरिएको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा दिपेश अर्याल, सचिवमा सपना बनियाँ राई, कोषाध्यक्षमा सुदुर्लभ पण्डित, सह–सचिवमा सुजन जिसी तथा सह–कोषाध्यक्षमा शैलेश सुबेदी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा कमल खत्री, कल्पना गैरे र आशुतोष नेपाल रहेका छन्।
नव–निर्वाचित अध्यक्ष भट्टराईले विगत चार वर्षदेखि समुदाय सेवामा सक्रिय रूपमा संलग्न रहने अवसर पाएको स्मरण गर्दै नयाँ जिम्मेवारीप्रति आभार व्यक्त गरेका छन्। उनले समुदायको विश्वासलाई उच्च सम्मान गर्दै संस्थालाई अझ प्रभावकारी, समावेशी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष भट्टराईले पूर्व अध्यक्ष वीरबहादुर राई सहित अघिल्लो कार्यसमितिका सदस्यहरूले संस्थाको विकास, प्रतिष्ठा र सामाजिक सद्भाव अभिवृद्धिमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरे। उनले सोही आधारलाई निरन्तरता दिँदै नयाँ कार्यसमितिले समुदायका आवश्यकता र चाहनाअनुसार कार्यक्रमहरू सञ्चालन गर्ने बताए।
नयाँ कार्यसमितिले आगामी दिनमा नेपाली भाषा, संस्कृति र पहिचान जगेर्ना गर्ने, युवापुस्तालाई समुदायसँग जोड्ने तथा विभिन्न सामाजिक–सांस्कृतिक कार्यक्रममार्फत नेपालीहरूबीच एकता र सहकार्य अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाइएको छ।


तपाइँको प्रतिक्रीया