काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकासहित देशभर रहेका अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बुधबार साँझ सिंहदरबारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई बोलाएर उनले विशेषगरी थापाथली क्षेत्रका बस्ती खाली गराउन भनेका हुन्।

प्रधानमन्त्री तथा गृह मन्त्रालयको कार्यभारसमेत सम्हालिरहेका शाहले आगामी शनिबार र आइतबारदेखि नै अभियान सुरु गर्ने योजना रहेको आफ्नो सचिवालयमार्फत जानकारी दिएका छन्। काठमाडौँबाट सुरु हुने यो अभियान क्रमशः अन्य क्षेत्रमा विस्तार गरिने रणनीति बनाइएको छ। यसअघि दुई वर्षअघि पनि थापाथलीको बस्ती व्यवस्थापन गर्ने प्रयास भए पनि सुरक्षा निकायसँग समन्वय अभाव र महानगर प्रहरीको सीमित क्षमताका कारण सफल हुन सकेको थिएन। अहिले सम्भावित प्रतिरोधलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
प्रधानमन्त्री शाहले यसपटक स्थानीय तहसँग समन्वय गरी सार्वजनिक जमिन फिर्ता गराउने लक्ष्यसहित अभियान अघि बढाएका हुन्।

तपाइँको प्रतिक्रीया