२०८३ असार ७ आइतबार

एडिलेडमा २१ नेपाली विद्यार्थी र स्वयंसेवकलाई निःशुल्क फर्स्ट एड तथा सीपीआर तालिम सम्पन्न

  • admin २०८३ असार ७ आइतबार
Screenshot

एडिलेड/ अष्ट्रेलियाको दक्षिण अष्ट्रेलिया राज्यस्थित एडिलेडमा नवआगन्तुक नेपाली विद्यार्थी तथा सामुदायिक स्वयंसेवकहरूका लागि निःशुल्क ‘फर्स्ट एड’ (प्राथमिक उपचार) तथा ‘सीपीआर’ (Cardiopulmonary Resuscitation – CPR) तालिम सफलतापूर्वक सम्पन्न भएको छ।गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) साउथ अष्ट्रेलिया स्टेट कोअर्डिनेसन काउन्सिल (SCC SA) को आयोजनामा प्लिम्पटन पार्कस्थित ५४६ मेरियन रोडमा आयोजित उक्त तालिममा २१ जना नवआगन्तुक विद्यार्थी तथा समुदायमा सक्रिय स्वयंसेवकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा आपतकालीन अवस्थामा कसरी तत्काल प्राथमिक उपचार गर्ने, बिरामीको श्वासप्रश्वास तथा मुटुको धड्कन बन्द हुँदा सीपीआरमार्फत कसरी जीवन बचाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले प्रशिक्षकको प्रत्यक्ष मार्गदर्शनमा अभ्याससमेत गरेका थिए।

 

कार्यक्रमलाई Achievers College ले मुख्य सहयोग गरेको थियो। कलेजका निर्देशक अनिल सापकोटाले नेपाली समुदायका नयाँ सदस्यहरूलाई जीवनरक्षक सीप प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले फर्स्ट एड तथा सीपीआरसम्बन्धी ज्ञान केवल कार्यस्थलका लागि मात्र नभई दैनिक जीवनमा समेत अत्यन्त उपयोगी हुने उल्लेख गर्दै समुदायको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।कार्यक्रममा फर्स्ट एड तथा सीपीआर सम्बन्धी प्रशिक्षण Achievers College का अनुभवी प्रशिक्षक कृष्ण गौतमले प्रदान गरेका थिए। 

एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङले नेपाली समुदायका नयाँ पुस्ता र नवआगन्तुक विद्यार्थीहरूलाई अष्ट्रेलियाको जीवनशैली, कार्यस्थलको सुरक्षा संस्कार तथा आपतकालीन अवस्थासँग जुध्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले यस्ता तालिमले केवल रोजगारीका अवसर बढाउने मात्र नभई समुदायमा जिम्मेवार, आत्मविश्वासी र सचेत नागरिक निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 

“अष्ट्रेलियामा एज्ड केयर, चाइल्डकेयर, डिसेबिलिटी सपोर्ट, हस्पिटालिटी लगायतका क्षेत्रमा काम गर्न फर्स्ट एड र सीपीआरको ज्ञान अत्यन्त महत्वपूर्ण मानिन्छ। नयाँ विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै यस्ता सीप सिकाउने प्रयासले उनीहरूको आत्मविश्वास र अवसर दुवै बढाउँछ,” गुरुङले भने।

कार्यक्रम संयोजक तथा एनआरएनए साउथ अष्ट्रेलियाका कोषाध्यक्ष वसन्त सापकोटाले नवआगन्तुक विद्यार्थी र स्वयंसेवकहरूलाई अष्ट्रेलियाको सुरक्षा संस्कार तथा आपतकालीन अवस्थासँग जुध्न आवश्यक आधारभूत सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले सहभागीहरूको उत्साहजनक उपस्थितिले समुदायमा यस्ता व्यावहारिक तथा जीवनोपयोगी तालिमको आवश्यकता अझ स्पष्ट भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा व्यवहारिक अभ्यासले आफूहरूलाई आपतकालीन परिस्थितिमा आत्मविश्वासका साथ प्रतिक्रिया दिन सक्षम बनाएको प्रतिक्रिया दिएका थिए।आयोजकका अनुसार नेपाली समुदायको क्षमता विकास, सुरक्षा सचेतना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता उपयोगी तथा सीपमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।