२०८३ असार ९ मङ्गलबार

अन्तर्राष्ट्रिय योग दिवसमा एडिलेडमा बालबालिकाका लागि ‘योगा फन सेसन’ सम्पन्न

  • admin २०८३ असार ९ मङ्गलबार

एडिलेड, अस्ट्रेलिया। अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा एडिलेडस्थित नेपाली पाठशालामा बालबालिकाहरूका लागि विशेष ‘योगा फन सेसन’ सफलतापूर्वक सम्पन्न भएको छ। नेपालिज इन्गेजमेन्ट एन्ड प्रोफेसनल्स एसोसिएसन (NEPA Inc.), अस्ट्रेलेसियन एसोसिएसन अफ आयुर्वेद (AAA) तथा नेपाली पाठशालाको संयुक्त आयोजनामा आइतबार, २२ जुन २०२६ मा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाली पाठशालाका २७ जना बालबालिकाले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रमाणित योग प्रशिक्षक मेरिडिथले बालबालिकालाई रमाइलो, सिर्जनात्मक र सहभागितामूलक शैलीमा योग अभ्यास गराउँदै योगका विविध आसन, यसको महत्त्व तथा स्वास्थ्य लाभबारे जानकारी दिएका थिए। कार्यक्रम अवधिभर बालबालिकाहरूको ऊर्जा, उत्साह र हाँसोले पाठशाला परिसर जीवन्त बनेको थियो।

NEPA Inc. का अध्यक्ष डा. निगम पौडेलले बालबालिकालाई सानै उमेरदेखि योगसँग परिचित गराउनु अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले योग शारीरिक तथा मानसिक स्वास्थ्यका लागि लाभदायक अभ्यास भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले बालबालिकाको समग्र विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको समापनका अवसरमा आयोजक टोलीका तर्फबाट ईश्वरी अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्दै योग प्रशिक्षक मेरिडिथ, नेपाली पाठशालाका प्रधानाध्यापक चन्द्रमणि पाण्डे तथा विद्यालय सचिव शशी पोखरेलप्रति विशेष आभार व्यक्त गरे। उहाँहरूको सहयोग, समन्वय र समर्थनका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उनले बताए।

कार्यक्रममा NEPA Inc. का सदस्यहरू सन्तोष सापकोटा, सुदीप रिजाल तथा मनोज अधिकारीको पनि उपस्थिति रहेको थियो। उनीहरूले कार्यक्रम व्यवस्थापन तथा बालबालिकालाई प्रोत्साहन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए।

आयोजक संस्थाहरूले यस कार्यक्रमलाई नेपाली–अष्ट्रेलियन नयाँ पुस्तामा योगप्रति रुचि, ज्ञान र अभ्यास विकास गर्ने महत्वपूर्ण सुरुवातका रूपमा लिएका छन्। NEPA Inc. का सहसचिव दिवाकर पौडेलका अनुसार भविष्यमा पनि बालबालिका तथा समुदाय लक्षित यस्ता स्वास्थ्य, शिक्षा र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी गराए।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित ‘योगा फन सेसन’ ले बालबालिकामा योगप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको सन्देश प्रवाह गरेको आयोजकहरूको विश्वास रहेको छ।