२०८३ असार १२ शुक्रबार

क्यानबेरामा स्थानीय सरकारको राष्ट्रिय सम्मेलन सम्पन्न, प्रधानमन्त्री अल्बानिजको विशेष सहभागिता

  • admin २०८३ असार १२ शुक्रबार

क्यानबेरा। अस्ट्रेलियाभरका स्थानीय सरकारका जनप्रतिनिधि र उच्च अधिकारीहरूको सहभागितामा राजधानी क्यानबेरामा सम्पन्न चारदिने National General Assembly of Local Government 2026 ले स्थानीय सरकारबीचको सहकार्य, दिगो विकास र पूर्वाधार व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ अघि सारेको छ।

Australian Local Government Association (ALGA) द्वारा आयोजित सम्मेलनमा देशभरका ५३८ स्थानीय काउन्सिल का मेयर, काउन्सिलर तथा प्रमुख कार्यकारी अधिकृत (CEO) हरू सहभागी भएका थिए। सम्मेलनमा स्थानीय सरकारको वित्तीय सुदृढीकरण, आवास, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा संघीय, राज्य र स्थानीय सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको आयोजकले जनाएको छ।

सम्मेलनको समापन क्यानबेरास्थित Australian War Memorial को नवनिर्मित फङ्सन सेन्टरमा आयोजित विशेष गाला डिनरसँग भएको थियो। उक्त कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज स्वयं सहभागी भएका थिए। प्रधानमन्त्री अल्बानिजले स्थानीय सरकारलाई समुदायसँग प्रत्यक्ष जोडिएको सरकारको तहका रूपमा उल्लेख गर्दै दिगो र समावेशी विकासका लागि संघीय सरकार स्थानीय सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए।

यस सम्मेलनमा साउथ अस्ट्रेलियाको City of Marion Council का तर्फबाट नेपाली मूलकी काउन्सिलर रेणुका लामा ले पनि सहभागिता जनाएकी थिइन्।

सम्मेलनपछि आफ्नो अनुभव साझा गर्दै काउन्सिलर लामाले देशभरका विभिन्न काउन्सिलका मेयर, काउन्सिलर र प्रमुख कार्यकारी अधिकृतहरूसँग विचार तथा अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताइन्। उनका अनुसार भौगोलिक अवस्था, जनसंख्या र स्थानीय आवश्यकता फरक–फरक भए पनि सबै काउन्सिलको साझा उद्देश्य आगामी पुस्ताका लागि सुरक्षित, समृद्ध र दिगो समुदाय निर्माण गर्नु नै रहेको स्पष्ट देखिएको थियो।

“यस सम्मेलनको सबैभन्दा महत्वपूर्ण सन्देश भनेको संघीय, राज्य र स्थानीय सरकारबीचको प्रभावकारी सहकार्यमार्फत आर्थिक समृद्धि, दिगोपन र पूर्वाधार व्यवस्थापनलाई अझ सुदृढ बनाउनु हो,” उनले भनिन्।

लामाले सम्मेलनले स्थानीय सरकारका प्रतिनिधिबीच अनुभव आदानप्रदानसँगै नयाँ सोच, नीति र अभ्यास सिक्ने अवसर दिएको उल्लेख गर्दै प्राप्त ज्ञान र अनुभवलाई आफ्नो काउन्सिल तथा स्थानीय समुदायको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले क्यानबेराको आतिथ्यप्रति आभार व्यक्त गर्दै सम्मेलनले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको प्रतिक्रिया दिइन्।