२०८३ असार २७ शनिवार

ओशिनिया नेपाली खेल महोत्सव २०२७: एडिलेडमा राज्य समन्वय समितिको औपचारिक घोषणा

  • admin २०८३ असार २७ शनिवार

एडिलेड,अष्ट्रेलिया — ओशिनिया क्षेत्रका नेपाली समुदायबीच खेलकुद, मित्रता र सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित आयोजना हुँदै आएको प्रतिष्ठित ७औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट (ONSM) २०२७ को तयारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२७ मा साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने यस बहुप्रतिक्षित खेलकुद महोत्सवलाई सफल र व्यवस्थित बनाउन राज्य समन्वय समितिको घोषणा गरिएको हो।

ओशिनिया क्षेत्रका विभिन्न देशमा बसोबास गर्ने नेपाली खेलाडी, स्वयंसेवक, खेलप्रेमी तथा समुदायलाई एउटै साझा मञ्चमा जोड्दै खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ गर्ने, नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने र साउथ अष्ट्रेलियाको आयोजनागत क्षमता अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने लक्ष्यका साथ समिति गठन गरिएको संयोजक विजय जोशीले जानकारी दिनुभयो।

घोषित राज्य समन्वय समितिमा संयोजकको जिम्मेवारी विजय जोशीले पाएका छन् भने सहसंयोजकमा सन्तोष अधिकारी र कोषाध्यक्षमा दीपेश राज पाण्डे रहेका छन्। आर्थिक संयोजकमा दिप्सन खड्का, स्पोन्सरसिप संयोजकमा रेनुका लामा, सह–स्पोन्सरसिप संयोजकमा रुपक बर्तौला, डकुमेन्ट कन्ट्रोलरमा नवीन पन्त, मल्टिकल्चरल तथा कम्युनिटी संयोजकमा मञ्जु खड्का, लजिस्टिक संयोजकमा सन्तोषी गौतम, कानुनी सल्लाहकारमा मोति नराल तथा सल्लाहकारमा सुपक अधिकारीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी इभेन्ट म्यानेजमेन्ट संयोजकमा पुष्कर कोइराला, आईसीटी सपोर्ट संयोजकमा मधुकर पौडेल, सांस्कृतिक संयोजकमा सीमा गुरुङ, मेडिकल संयोजकमा रक्षा शुक्ला, मिडिया संयोजकमा बालगोपाल उपाध्याय, डिजिटल मिडिया तथा प्रमोशनल संयोजकमा सभा डीसी न्यौपाने, खेलकुद संयोजकमा थिर गुरुङ तथा स्वयंसेवक संयोजकमा अनुभव अधिकारी रहेका छन्।

प्रतियोगिताअन्तर्गत सञ्चालन हुने विभिन्न खेलहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन विधागत संयोजकहरू पनि तोकिएका छन्। क्रिकेटमा विकास सुवेदी, फुटबलमा चिरु श्रेष्ठ, ब्याडमिन्टनमा जोभ अधिकारी, टेबलटेनिस तथा लन टेनिसमा नवीन कडेल, बास्केटबलमा रोश धमाला, स्विमिङमा हिमाल काण्डेल, गल्फमा विशाल मान श्रेष्ठ, भलिबलमा प्रदीप खत्री, ट्र्याक एण्ड फिल्डमा रमेश राजभण्डारी तथा जुनियर क्रिकेटमा लक्ष्मी सापकोटालाई जिम्मेवारी प्रदान गरिएको छ।

संयोजक विजय जोशीका अनुसार राज्य समन्वय समितिको गठनसँगै प्रतियोगिताको तयारीले संस्थागत रूप लिएको छ। अबका हप्ताहरूमा प्रत्येक खेल विधाअन्तर्गत विस्तारित कार्यसमिति, खेल विशेष आयोजक समिति, ONSM २०२७ का स्पोर्ट्स एम्बेसेडर तथा थप स्वयंसेवकहरूको चरणबद्ध रूपमा घोषणा गरिनेछ।

उहाँले यो जिम्मेवारी समुदायप्रतिको विश्वास र खेलकुद विकासप्रतिको प्रतिबद्धताको रूपमा ग्रहण गरेको उल्लेख गर्दै सम्पूर्ण पदाधिकारीलाई बधाई व्यक्त गर्नुभयो। साथै, यस ऐतिहासिक खेल महोत्सवलाई सफल बनाउन ओशिनिया क्षेत्रका सम्पूर्ण नेपाली समुदाय, खेलाडी, स्वयंसेवक, संघसंस्था तथा शुभेच्छुकलाई सक्रिय सहभागिता र सहयोगका लागि हार्दिक आह्वान गर्नुभएको छ।

ओशिनिया नेप्लिज स्पोर्ट्स मिट नेपाली समुदायको सबैभन्दा ठूलो क्षेत्रीय खेलकुद महोत्सवका रूपमा परिचित छ। यसले खेलकुद प्रतिस्पर्धामात्र होइन, विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूबीच आपसी सम्बन्ध विस्तार, सांस्कृतिक आदान–प्रदान, नेतृत्व विकास र नयाँ पुस्तामा खेल संस्कृतिको प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा पनि आफ्नो पहिचान बनाउँदै आएको छ। सन् २०२७ मा एडिलेडमा आयोजना हुने सातौँ संस्करणलाई त्यसै परम्परालाई अझ उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ।