२०८३ असार २६ शुक्रबार

‘जेन–जी’ पुस्ताको राजनीतिक आवाज बोकेको ‘बिगुल’ले एडिलेडमा पनि मन जित्यो

  • admin २०८३ असार २६ शुक्रबार

एडिलेड। नेपालको समकालीन राजनीति, सुशासन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको सशक्त सन्देश बोकेको नेपाली चलचित्र ‘बिगुल’ दक्षिण अस्ट्रेलियाको एडिलेडमा निर्माता तथा लेखक दिनेश कोइरालाकै विशेष उपस्थितिमा भव्य रूपमा प्रदर्शन गरिएको छ। शुक्रबार साँझ केन्सिङ्टन पार्कस्थित द रिगल थिएटरमा आयोजित विशेष प्रिमियरमा नेपाली समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

नेपालमा प्रदर्शनका क्रममा व्यापक चर्चा बटुलेको ‘बिगुल’ले त्यसपछि अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा पनि उल्लेखनीय सफलता हासिल गरेको थियो। ती दुई शहरमा दर्शकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया पछि एडिलेडमा सम्पन्न विशेष प्रदर्शन पनि भव्य र सफल बनेको आयोजकले जनाएको छ। तीनै शहरमा नेपाली समुदायले चलचित्रलाई दिएको साथले प्रवासमा नेपाली चलचित्रप्रतिको आकर्षण र अपनत्व अझ सुदृढ भएको देखिएको छ।

एडिलेडमा आयोजित विशेष प्रिमियरमा अभिभावक, युवा, विद्यार्थी, समाजसेवी, सामाजिक अभियन्ता, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, कला तथा सांस्कृतिक क्षेत्रमा आबद्ध व्यक्तित्वलगायत नेपाली समुदायका विभिन्न तह र तप्काका दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रदर्शनपछि दर्शकहरूले चलचित्रले नेपालको राजनीतिक यथार्थ, सामाजिक अवस्था, सुशासनको आवश्यकता र नयाँ पुस्ताको परिवर्तनप्रतिको चाहनालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए।

चलचित्रका निर्माता तथा लेखक दिनेश कोइरालाले एडिलेडमा प्राप्त आत्मीय स्वागत र दर्शकको मायाप्रति आभार व्यक्त गर्दै सिड्नी, मेलबर्न र एडिलेडमा नेपाली समुदायले देखाएको उत्साहले आफूलाई थप जिम्मेवार बनाएको बताए।उनले भने, ”‘बिगुल’ केवल मनोरञ्जनका लागि बनाइएको चलचित्र होइन। यसले समाजलाई सोच्न, प्रश्न गर्न र सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्ने प्रयास गरेको छ। सिड्नी, मेलबर्न र अब एडिलेडमा दर्शकबाट प्राप्त माया र साथले नेपाली चलचित्रप्रतिको प्रवासी नेपालीको विश्वास र अपनत्व झनै बलियो भएको अनुभूति गरेको छु।”

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका कोइरालाले आफ्नै राजनीतिक जीवनमा भोगेका संघर्ष, आदर्शमाथिको हस्तक्षेप, अपमान र अनुभवलाई कलात्मक ढंगले चलचित्रमार्फत प्रस्तुत गरेका छन्। त्यसैले ‘बिगुल’ केवल काल्पनिक कथा नभई नेपालको राजनीतिक र सामाजिक यथार्थसँग नजिकिएको चलचित्रका रूपमा पनि हेरिएको छ।

चलचित्रले नेपालको ‘जेन–जी’ पुस्तामा बढ्दो राजनीतिक वितृष्णा, परिवर्तनको चाहना, भ्रष्टाचार र कुशासनविरुद्धको विद्रोही चेतनालाई केन्द्रमा राखेको छ। एक इमानदार राजनीतिक परिवारले भोग्नुपरेका दुःख, अन्याय, अपमान र राज्य संयन्त्रभित्र मौलाएको दण्डहीनताको चित्रणमार्फत चलचित्रले समाजलाई गम्भीर प्रश्न उठाएको छ। साथै, “दण्डहीनता क्षम्य हुँदैन” भन्ने स्पष्ट र सशक्त सन्देश चलचित्रले प्रवाह गरेको छ।

चलचित्रमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा रहेकी छन् भने नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने लगायतका अनुभवी कलाकारहरूको सशक्त अभिनय रहेको छ। कलाकारहरूको जीवन्त अभिनय, यथार्थपरक कथा र भावनात्मक प्रस्तुतीकरणले दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राख्न सफल भएको प्रतिक्रिया कार्यक्रममा सहभागीहरूले व्यक्त गरेका थिए।

नेपालमा आमनिर्वाचनको पूर्वसन्ध्यामा प्रदर्शनमा आएको ‘बिगुल’ले त्यतिबेलै राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चा बटुलेको थियो। त्यसयता नेपालसँगै अस्ट्रेलियाका सिड्नी, मेलबर्न र अहिले एडिलेडमा सम्पन्न सफल प्रदर्शनले चलचित्रले उठाएका विषयहरू प्रवासमा रहेका नेपाली समुदायका लागि पनि उत्तिकै सान्दर्भिक रहेको पुष्टि गरेको छ।

कार्यक्रमका संयोजक विशाल कोइरालाले एडिलेडमा सम्पन्न विशेष प्रिमियर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दर्शक, स्वयंसेवक, सहयोगी संस्था तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरे। उनले नेपाली चलचित्र उद्योगलाई यस्तै साथ, माया र हौसला निरन्तर प्रदान गर्न सम्पूर्ण नेपाली समुदायसँग आग्रह पनि गरे।

एडिलेडमा सम्पन्न ‘बिगुल’को विशेष प्रदर्शनले नेपाली चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई समाज, राजनीति र परिवर्तनबारे गम्भीर बहस सिर्जना गर्ने सशक्त माध्यम पनि बन्न सक्ने सन्देश दिएको छ। सिड्नी, मेलबर्न हुँदै एडिलेडसम्म प्राप्त दर्शकको उत्साहजनक साथले नेपाली चलचित्रप्रति प्रवासी नेपाली समुदायको विश्वास, अपनत्व र जिम्मेवारीलाई अझ मजबुत बनाएको आयोजकको विश्वास रहेको छ।