२०८३ श्रावाण ९ शनिवार

एडिलेडमा ऐतिहासिक खेलकुद महोत्सवको तयारी, विजय जोशीको नेतृत्वमा ओशिनिया समन्वय कमिटी गठन

  • admin २०८३ श्रावाण ९ शनिवार

एडिलेड,अष्ट्रेलिया – सन् २०२७ मा दक्षिण अष्ट्रेलियाको राजधानी एडिलेडमा आयोजना हुने ७औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिट (ONSM 2027) को तयारीलाई व्यवस्थित, प्रभावकारी र समन्वयात्मक बनाउन उच्चस्तरीय ओशिनिया समन्वय कमिटी (Oceania Coordination Committee – OCC) गठन गरिएको छ।

ओशिनिया क्षेत्रकै सबैभन्दा ठूलो नेपाली खेलकुद महोत्सवका रूपमा परिचित यस प्रतियोगिताको सफल आयोजना सुनिश्चित गर्न अष्ट्रेलियाका विभिन्न राज्य, टेरिटोरी तथा न्युजिल्यान्डका प्रतिनिधिहरूलाई समेटेर गठित कमिटीको अध्यक्षमा विजय जोशी चयन हुनुभएको छ। क्रिकेट अष्ट्रेलियाका बहुसांस्कृतिक दूत (Multicultural Ambassador) समेत रहनुभएका जोशीको नेतृत्वमा गठित कमिटीले प्रतियोगिताको सम्पूर्ण समन्वय, रणनीतिक योजना तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।

कमिटीका उपाध्यक्षहरूमा अजय क्षेत्री (न्यु साउथ वेल्स), भैरव लिम्बू (भिक्टोरिया), सुरज पौडेल (अष्ट्रेलियन क्यापिटल टेरिटोरी), चन्द्रप्रकाश गुरुङ (नर्दन टेरिटोरी), प्रसुन कुमार उपाध्याय (क्विन्सल्यान्ड), उमेश थापा (वेस्टर्न अष्ट्रेलिया), हरी गौतम (तास्मानिया) तथा बाल तिमिल्सिना (न्युजिल्यान्ड) रहनुभएको छ।

त्यसैगरी, सन्तोष अधिकारी सचिव, दीपेशराज पाण्डे कोषाध्यक्ष, दिप्सन खड्का वित्तीय संयोजक (Financial Coordinator) तथा विष्णु हमाल पब्लिक अफिसरको जिम्मेवारीमा रहनुभएको छ।

विभिन्न राज्य र न्युजिल्यान्डबाट प्रतिनिधित्व

कार्यसमिति सदस्यहरूमा प्रमिला थापा (NSW), महेश श्रेष्ठ (भिक्टोरिया), राममणि भुसाल (नर्दन टेरिटोरी), शरण भट्ट (क्विन्सल्यान्ड), सुमित पौडेल (ACT), प्रदीप महर्जन (वेस्टर्न अष्ट्रेलिया), सुजित रेग्मी (तास्मानिया) तथा सुबोध ढकाल (न्युजिल्यान्ड) रहनुभएको छ।

यसैगरी, विभिन्न विभागीय जिम्मेवारीसमेत तोकिएको छ। बालगोपाल उपाध्याय मिडिया संयोजक, नविन पन्त डकुमेन्ट कन्ट्रोलर, सन्तोषी गौतम लजिस्टिक्स संयोजक, पुष्कर कोइराला इभेन्ट म्यानेजमेन्ट संयोजक, मधुकर पौडेल ICT सपोर्ट संयोजक, सीमा गुरुङ सांस्कृतिक संयोजक, शबा डीसी न्यौपाने प्रमोसन संयोजक, थिर गुरुङ खेलकुद संयोजक तथा रक्षा शुक्ला मेडिकल संयोजकको भूमिकामा रहनुभएको छ।

‘खेलमार्फत एकता र पहिचानलाई अझ मजबुत बनाउने’

नवनियुक्त अध्यक्ष विजय जोशीले ओशिनिया नेप्लिज स्पोर्ट्स मिट केवल खेलकुद प्रतियोगिता मात्र नभई ओशिनिया क्षेत्रभर फैलिएका नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्ने अभियान भएको बताउनुभयो।उहाँका अनुसार यस महोत्सवले नेपाली युवामा खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धा, नेतृत्व क्षमता र आपसी भाइचारालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

जोशीले सहभागी सबै राज्य तथा न्युजिल्यान्डसँग निरन्तर समन्वय गर्दै प्रतियोगितालाई ऐतिहासिक, व्यवस्थित, समावेशी र भव्य बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सम्पूर्ण नेपाली समुदाय, सामाजिक संघसंस्था, स्वयंसेवक, खेलाडी तथा शुभेच्छुकहरूलाई यस महोत्सवलाई सफल बनाउन हातेमालो गर्न आग्रह गर्नुभएको छ।

एडिलेडमा जुट्नेछन् ओशिनियाभरका नेपाली खेलाडी

सन् २०२७ मा एडिलेडमा हुने ७औँ ओशिनिया नेप्लिज स्पोर्ट्स मिटमा अष्ट्रेलियाका सबै राज्य तथा टेरिटोरीका साथै न्युजिल्यान्डबाट सयौँ खेलाडी, प्रशिक्षक, स्वयंसेवक र दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ।खेलकुदसँगै सांस्कृतिक कार्यक्रम, समुदायबीचको अन्तरक्रिया, नेपाली कला–संस्कृतिको प्रवर्द्धन तथा नयाँ पुस्ताबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्य पनि यस महोत्सवले बोकेको आयोजकहरूको विश्वास छ। त्यसैले यस प्रतियोगितालाई केवल खेलकुद कार्यक्रम नभई ओशिनिया क्षेत्रमा रहेका नेपालीहरूको साझा उत्सवका रूपमा हेरिएको छ।