२०८३ श्रावाण ९ शनिवार

अमेरिकाबाट अस्ट्रेलियासम्म: पहिलोपटक सिड्नीमा हुँदै ‘ग्लोबल नेपाली फिल्म अवार्ड’, डिसेम्बर १७ मा नवौँ संस्करण

  • admin २०८३ श्रावाण ९ शनिवार

सिड्नी। नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ पहिलो पटक अमेरिकाबाहिर आयोजना हुने भएको छ। सन् २०१८ देखि अमेरिकामा निरन्तर हुँदै आएको यो अवार्डको नवौँ संस्करण १७ डिसेम्बर २०२६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने औपचारिक घोषणा गरिएको हो।

यसका लागि नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाबीच औपचारिक सहकार्य सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल फिल्म सोसाइटी तथा ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका प्रतिनिधि एवं संयोजक सञ्जय खतिवडा र भारा इन्टरटेनमेन्ट अस्ट्रेलियाका संस्थापक अरुण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल भर्चुअल माध्यमबाट सहभागी हुँदै अमेरिकामा सफलतापूर्वक सम्पन्न भएका आठ संस्करणपछि पहिलो पटक अस्ट्रेलियामा अवार्ड आयोजना हुनु नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनले सिड्नी संस्करणले अवार्डको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गर्दै आयोजक र साझेदार संस्थाहरूलाई बधाई दिएका थिए।

अमेरिकाबाहिर पहिलो पाइला

आयोजकका अनुसार सन् २०१८ यता अमेरिकामा लगातार आयोजना हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डले नेपाली चलचित्रका कलाकार, निर्देशक, प्राविधिक, स्रष्टा तथा सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ। अब पहिलो पटक कार्यक्रम अमेरिकाबाहिर सिड्नीमा आयोजना हुनुले अवार्डलाई अझ विश्वव्यापी बनाउने अपेक्षा गरिएको छ। विशेषगरी अस्ट्रेलियामा बढ्दो नेपाली समुदाय, यहाँ हुने सांस्कृतिक गतिविधि तथा नेपाली चलचित्रप्रतिको आकर्षणलाई ध्यानमा राख्दै सिड्नीलाई यसपटकको गन्तव्य बनाइएको आयोजकहरूको भनाइ छ। उनीहरूका अनुसार यसले नेपाल र अस्ट्रेलियाबीच कला, संस्कृति र चलचित्र क्षेत्रको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रवासी नेपाली समुदायलाई जोड्ने प्रयास

आयोजक संस्थाहरूले यो कार्यक्रम केवल पुरस्कार वितरणमा सीमित नरही विश्वभर रहेका नेपाली कलाकार, चलचित्रकर्मी र प्रवासी नेपाली समुदायलाई एउटै मञ्चमा जोड्ने अवसरका रूपमा लिएको बताएका छन्। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने, नयाँ सहकार्यको सम्भावना बढाउने तथा नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य पनि यससँग जोडिएको छ।

सम्झौता कार्यक्रममा उल्लेखनीय सहभागिता

सम्झौता कार्यक्रममा अस्ट्रेलियास्थित नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा  एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष दिनेश पोखरेल, एनएसडब्लु राज्य समन्वय समितिकी संयोजक उषाकिरण बरिया पोखरेल, भारा इन्टरटेनमेन्टका निर्देशक रुपेश भट्टराई, ग्लोबल नेपाली फिल्म अवार्डका सल्लाहकार तथा अन्तर्राष्ट्रिय विद्यार्थी अभियन्ता विजय सापकोटा, भारा इन्टरटेनमेन्टका संस्थापक हेमन लामिछाने, एएनसीका इभेन्ट संयोजक नवराज तिमल्सिना, एएनसीकी प्रवक्ता सबला बस्नेत, जीएसएनएमसीका अध्यक्ष विष्णु हमाल, चलचित्र निर्माता तथा आरएफएमका संस्थापक रञ्जित शाह, वरिष्ठ सामुदायिक अगुवा महेन्द्र लम्साल र भूपाल सिटौला, वरिष्ठ पत्रकार हेमन्त काफ्ले तथा एनआरएनएका पूर्व सह–महासचिव राकेश जोशीलगायतको सहभागिता थियो।

आयोजकहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा विश्वभरका नेपाली समुदायप्रति आभार व्यक्त गर्दै १७ डिसेम्बर २०२६ मा सिड्नीमा हुने नवौँ ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन सबैलाई निमन्त्रणा दिएका छन्।