अष्ट्रेलिया। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीहरूलाई सरकारको “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने नीतिमा विश्वस्त रहन आग्रह गर्दै नेपालको आर्थिक समृद्धि र विकास यात्रामा सक्रिय साझेदार बन्न आह्वान गर्नुभएको छ।
अष्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूले शनिबार आयोजना गरेको सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीहरू नेपालका लागि केवल रेमिट्यान्स पठाउने समुदाय मात्र नभई लगानी, ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका महत्त्वपूर्ण साझेदार भएको बताउनुभयो।उहाँले सरकार प्रवासी नेपालीसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने मान्यतामा सरकार स्पष्ट रहेको बताउनुभयो। “ढुक्क हुनुहोस्, तपाईंहरू जहाँ भए पनि नेपालको अभिन्न हिस्सा हुनुहुन्छ,” उहाँले भन्नुभयो।

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ सरकारले छोटो अवधिमै सुशासन, पारदर्शिता र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्नुभयो। सरकारको पहिलो एक सय दिनमै जनतालाई सहज सेवा उपलब्ध गराउने, प्रशासनिक सुधार अघि बढाउने तथा अर्थतन्त्रलाई पुनर्जीवित गर्ने दिशामा उल्लेखनीय सुरुवात भएको उहाँको भनाइ थियो।
उहाँले नेतृत्व तहदेखि मन्त्रीहरूसम्म उच्च नैतिकता, मेरिटोक्रेसी र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आर्थिक शासन प्रणालीलाई नयाँ दिशातर्फ अघि बढाइएको उल्लेख गर्नुभयो। पछिल्लो दशककै महत्त्वपूर्ण सुधारको थालनी भएको दाबी गर्दै उहाँले यसले दीर्घकालीन आर्थिक स्थायित्व र लगानीमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो।
बजेटमार्फत कर प्रणाली, राजस्व व्यवस्थापन, बजेट वितरण तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विभिन्न सुधारात्मक कदम चालिएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले अब नेपालमा लगानी गर्ने उपयुक्त वातावरण निर्माण हुँदै गएको बताउनुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूलाई आफ्नै पूँजी मात्र होइन, विदेशी लगानी पनि नेपाल भित्र्याउन अग्रसर हुन आग्रह गर्नुभयो।
नेपालमा लगानी गरेर प्राप्त हुने प्रतिफल सहज रूपमा फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उहाँले सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता नयाँ अवधारणालाई अघि बढाएको जानकारी दिनुभयो। यी योजनाहरू प्रवासी नेपालीको लगानीलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले ल्याइएको उहाँको भनाइ थियो।
सरकारले सरकारी कोषबाहिरबाट पनि अर्थतन्त्रलाई चलायमान बनाउन निजी र प्रवासी लगानीलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले सरकारले थप के–कस्ता नीति सुधार गर्नुपर्ने हो, त्यसबारे स्पष्ट सुझाव दिन पनि प्रवासी नेपालीहरूलाई आग्रह गर्नुभयो।
अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको महत्त्वपूर्ण सम्पत्ति भन्दै अर्थमन्त्री वाग्लेले उनीहरू नेपालको विकास र समृद्धिका वास्तविक सद्भावना दूत भएको उल्लेख गर्नुभयो। अष्ट्रेलियाको कुल जनसङ्ख्याको करिब एक प्रतिशतको हाराहारीमा पुगेको नेपाली समुदायले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तारसँगै आर्थिक विकासमा पनि ठूलो योगदान दिन सक्ने उहाँको विश्वास थियो।
उहाँले अन्त्यमा देश निर्माणको साझा उद्देश्यका लागि स्वदेश र विदेशमा रहेका सबै नेपालीबीच अझ बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालको समृद्धिका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।

तपाइँको प्रतिक्रीया