२०८३ श्रावाण १० आइतबार

गर्भावस्थादेखि अभिभावकत्वसम्मको मानसिक स्वास्थ्यबारे एडिलेडमा विशेष सचेतनामूलक कार्यक्रम हुँदै

  • admin २०८३ श्रावाण १० आइतबार

एडिलेड, अष्ट्रेलिया — एनआरएनए अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद्अन्तर्गतको नारी निकुञ्ज वुमेन्स फोरम (SA) ले गर्भावस्थादेखि अभिभावकत्वसम्मको यात्रामा आउने मानसिक तथा भावनात्मक उतारचढावबारे समुदायलाई सचेत गराउने उद्देश्यले विशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।

‘Navigating Emotional Roller Coaster from Pregnancy to Parenthood’ शीर्षकमा आयोजना हुने कार्यक्रम शुक्रबार, १४ अगस्ट २०२६, दिउँसो ४:०० बजेदेखि ६:०० बजेसम्म Mitchell Park Sports & Community Centre मा सञ्चालन हुनेछ।

कार्यक्रममा Women’s and Children’s Health Network अन्तर्गत Child and Family Health Services, South Terrace मा कार्यरत तथा National Perinatal Infant Mental Health ForWhen Navigator क्याथी बिशप (Cathie Bishop) ले सहजीकरण गर्नेछिन्। उनले गर्भावस्था, सुत्केरीपछिको अवस्था र अभिभावकत्वको प्रारम्भिक चरणमा देखिन सक्ने मानसिक तथा भावनात्मक चुनौती, तनाव व्यवस्थापन, सहयोग प्राप्त गर्ने माध्यम तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका विषयमा जानकारी दिनेछिन्।

आयोजकका अनुसार अभिभावक बन्ने यात्रा जीवनकै सबैभन्दा खुसीका क्षणमध्ये एक भए पनि त्यसक्रममा धेरैले चिन्ता, तनाव, भावनात्मक उतारचढाव तथा मानसिक दबाबको सामना गर्ने गर्छन्। यस्ता विषय अझै पनि खुला रूपमा छलफल नहुने भएकाले समुदायमा सचेतना फैलाउने, अनुभव आदानप्रदान गर्ने र आवश्यक सहयोगका उपायबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, भोगाइ र जिज्ञासा सुरक्षित तथा सहयोगात्मक वातावरणमा खुला रूपमा राख्न सक्नेछन्। आयोजकले यो कार्यक्रम गर्भवती महिला, नयाँ अभिभावक, आमा–बुबा, हजुरआमा–हजुरबुबा, परिवारका सदस्य तथा आफ्ना प्रियजनलाई साथ दिइरहेका सबैका लागि उपयोगी हुने जनाएको छ। साथै, कार्यक्रम सबै लिङ्गका व्यक्तिका लागि खुला रहेको र सहभागीहरूका लागि रिफ्रेसमेन्टको व्यवस्था पनि गरिएको छ।

नारी निकुञ्ज वुमेन्स फोरम (SA) की उपसंयोजक कुशुम पौडेलले यस्ता कार्यक्रमले समुदायमा मानसिक स्वास्थ्यबारे खुला संवादको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, “गर्भावस्थादेखि अभिभावकत्वसम्मको यात्रा प्रत्येक परिवारका लागि फरक अनुभव हुन सक्छ। यस क्रममा आउने मानसिक र भावनात्मक चुनौतीबारे खुलेर कुरा गर्नु आवश्यक छ। यही उद्देश्यका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। यस कार्यक्रममा सहभागी भएर सिक्ने, आफ्ना अनुभव साटासाट गर्ने र एकअर्कालाई साथ दिने अवसर सबैले प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। समुदायका सबै सदस्यलाई कार्यक्रममा सहभागी भई यस अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछु।”

कार्यक्रमबारे थप जानकारीका लागि कुशुम पौडेल (Deputy Coordinator, SNN SA) – 0420 301 642 तथा बसन्ता सापकोटा (Treasurer, SA) – 0420 812 729 मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।