एडिलेड, अष्ट्रेलिया — अष्ट्रेलिया र न्युजिल्याण्डमा रहेका नेपाली समुदायको सबैभन्दा ठूलो र प्रतिष्ठित खेलकुद महोत्सव ‘७औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट (ONSM) २०२७’ आगामी २६ देखि २८ मार्च २०२७ सम्म साउथ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिताको तयारीलाई तीव्र बनाउँदै यस संस्करणको मूल नारा ‘United by Heritage, Inspired by Sport’ (सम्पदाले एकताबद्ध, खेलकुदले प्रेरित) र आधिकारिक मस्कटका रूपमा ‘कोआला’ सार्वजनिक गरेको छ।

ओएनएसएम–२०२७ का संयोजक विजय जोशीका अनुसार साउथ अष्ट्रेलियाको पहिचान र गौरवका रूपमा परिचित मैत्रीपूर्ण तथा लचिलो जीव कोआलालाई प्रतियोगिताको आधिकारिक मस्कट बनाइएको हो। उनका अनुसार कोआलाले नेपाली समुदायबीचको एकता, सामूहिक भावना तथा साउथ अष्ट्रेलियाको न्यानो आतिथ्यलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्नेछ।
सन् २०१३ मा स्थापना भएको ओशिनिया नेपाली स्पोर्ट्स मिट नेपाली समुदायको ‘ओलम्पिक’का रूपमा परिचित छ। प्रत्येक संस्करणमा अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न राज्य तथा सहरबाट सयौं नेपाली खेलाडी, खेल अधिकारी, स्वयंसेवक र समर्थकहरू एकै स्थानमा भेला हुने यो प्रतियोगिता खेलकुदसँगै नेपाली संस्कृति, मित्रता र सामुदायिक एकताको महत्वपूर्ण उत्सवका रूपमा विकसित हुँदै आएको छ।
आयोजकका अनुसार यसपटकको प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्य र न्युजिल्याण्डबाट करिब ७०० देखि ८०० खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। खेलाडीसँगै खेल अधिकारी, स्वयंसेवक, परिवारका सदस्य तथा ठूलो सङ्ख्यामा समर्थकहरू एडिलेड पुग्ने अनुमान गरिएको छ।

प्रतियोगिताले खेलकुदमा मात्र सीमित नरही साउथ अष्ट्रेलियाको पर्यटन, होटल तथा आतिथ्य व्यवसाय, स्थानीय व्यापार र बहुसांस्कृतिक समुदायबीचको सहकार्यलाई समेत उल्लेखनीय टेवा पुग्ने आयोजकको विश्वास छ। साथै यसले नेपाली समुदायबीच आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
एडिलेड नेपाली क्रिकेट एसोसिएसनका अध्यक्षसमेत रहेका संयोजक जोशीले प्रतियोगिताको तयारी योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिँदै आगामी दिनमा आयोजक टोली, विभिन्न उपसमिति, खेल विधा तथा अन्य महत्वपूर्ण विवरण क्रमशः सार्वजनिक गरिने बताए।
नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद पर्वका रूपमा स्थापित ओशिनिया नेपाली स्पोर्ट्स मिटको सातौँ संस्करणलाई भव्य, व्यवस्थित र स्मरणीय बनाउने लक्ष्यका साथ आयोजक टोली तयारीमा जुटेको जनाएको छ।


तपाइँको प्रतिक्रीया