एडिलेड। अष्ट्रेलियामा सुरक्षित सवारी सञ्चालनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एनआरएनए दक्षिण अष्ट्रेलिया (NRNA SA) को युथ फोरमले दक्षिण अष्ट्रेलिया प्रहरीको रोड सेफ्टी सेन्टरसँगको सहकार्यमा निःशुल्क ‘सामुदायिक सडक सुरक्षा सचेतना कार्यक्रम’ आयोजना गर्ने भएको छ।
युथ फोरमका संयोजक संगम पाण्डेका अनुसार कार्यक्रम शनिबार, ४ जुलाई २०२६ बिहान ९:३० बजे देखि ग्रीनएकर्सस्थित नेपाल हाउस रेस्टुरेन्टमा सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन र यो नेपाली समुदायका सबै सदस्यका लागि खुला रहनेछ।

कार्यक्रममा अष्ट्रेलियाका सडक नियम, सुरक्षित सवारी सञ्चालन, चालकको जिम्मेवारी, ट्राफिक नियमको पालना, सडक दुर्घटना न्यूनीकरणका उपाय तथा दैनिक जीवनमा अपनाउनुपर्ने सुरक्षित ड्राइभिङ अभ्यासबारे दक्षिण अष्ट्रेलिया प्रहरीका सडक सुरक्षा विज्ञहरूले जानकारी दिनेछन्। सहभागीहरूले आफूलाई लागेको जिज्ञासा प्रत्यक्ष रूपमा राख्न र व्यवहारिक जानकारी प्राप्त गर्न पनि सक्नेछन्।
संयोजक संगम पाण्डेले अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि सडक सुरक्षासम्बन्धी सही जानकारी अत्यन्त आवश्यक रहेको बताउँदै विशेषगरी नयाँ चालक, विद्यार्थी, अस्थायी तथा स्थायी बसोबास गर्ने सबै नेपालीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनले सुरक्षित सडक निर्माण सरकार वा प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक चालक, पैदलयात्री र नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले जिम्मेवार सवारी संस्कृतिको विकास, सडक दुर्घटना न्यूनीकरण र समुदायमा सुरक्षा चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

एनआरएनए दक्षिण अष्ट्रेलियाको युथ फोरमले समुदायको हितका लागि यस्ता ज्ञानमूलक र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। आयोजकले यस अवसरको अधिकतम लाभ उठाउँदै सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई अष्ट्रेलियाको सडक सुरक्षा प्रणालीबारे प्रत्यक्ष जानकारी लिन हार्दिक अनुरोध गरेको छ।


तपाइँको प्रतिक्रीया