२०८३ असार १७ बुधबार

‘नेपाल फेस्टिभल पर्थ २०२६’ को तयारी तीव्र , प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड मुख्य आकर्षण

  • admin २०८३ असार १७ बुधबार

पर्थ/अष्ट्रेलिया – पश्चिम अष्ट्रेलियामा आयोजना हुने नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक महोत्सव ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को तयारी औपचारिक रूपमा सुरु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अष्ट्रेलियाको आयोजनामा आगामी १० अक्टोबर २०२६ मा वेलिङ्टन स्क्वायर, पर्थमा आयोजना हुने महोत्सवलाई यस वर्ष अझ भव्य, व्यवस्थित र समुदायमुखी बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।

महोत्सवको तयारीलाई गति दिन हालै आयोजित सामुदायिक अन्तर्क्रिया (Community Consultation) कार्यक्रममा समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सोही अवसरमा इन्टरलेस स्टडिज पर्थ (Interlace Studies Perth) लाई नेपाल फेस्टिभल पर्थ २०२६ को टाइटल स्पोन्सर घोषणा गरिएको छ। आयोजकका अनुसार यो साझेदारीले महोत्सवलाई थप प्रभावकारी र उच्चस्तरीय रूपमा आयोजना गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एनआरएनए पश्चिम अष्ट्रेलियाका संयोजक हरिवंश सञ्जेल (सुमन) ले नेपाल फेस्टिभल कुनै एक संस्थाको कार्यक्रम नभई सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएको बताउँदै यसको सफलताका लागि सबैको साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताए।

सञ्जेल भने, “नेपाल फेस्टिभल हाम्रो संस्कृति, पहिचान र एकतालाई विश्वसामु प्रस्तुत गर्ने साझा मञ्च हो। समुदायका सबै तहबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै यस वर्षको महोत्सवलाई अझ व्यवस्थित, भव्य र स्मरणीय बनाउने तयारी गरेका छौं। सबै नेपालीलाई यस अभियानमा जोडिन हार्दिक आग्रह गर्दछु।”

यस वर्षको महोत्सवको प्रमुख आकर्षणका रूपमा नेपालका चर्चित गायक प्रमोद खरेल एण्ड परम्परा ब्याण्डको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ। संयोजक सञ्जेलका अनुसार प्रमोद खरेल एण्ड परम्परा ब्याण्डसँग प्रस्तुति सम्बन्धी औपचारिक सम्झौता (कन्ट्र्याक्ट) सम्पन्न भइसकेको छ। उनीहरूको लाइभ प्रस्तुति महोत्सवको मुख्य आकर्षणमध्ये एक हुने विश्वास आयोजकको छ।

त्यससँगै पश्चिम अष्ट्रेलियामा रहेका नेपाली स्थानीय कलाकारहरू, सांस्कृतिक समूह तथा नृत्य टोलीहरूको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। नेपाली लोक तथा आधुनिक संगीत, मौलिक नृत्य, सांस्कृतिक झाँकी, परम्परागत नेपाली परिकार, हस्तकला प्रदर्शनी तथा बाल–युवाहरूको प्रतिभा प्रदर्शनले महोत्सवलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।

हरेक वर्ष हजारौं नेपाली तथा अष्ट्रेलियालीको सहभागिता रहने नेपाल फेस्टिभलले नेपाली कला, संस्कृति, भाषा र पर्यटनको प्रवर्द्धन गर्दै नेपाललाई बहुसांस्कृतिक अष्ट्रेलियामा चिनाउने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै आएको छ। यस वर्ष पनि आयोजकले समुदायको व्यापक सहभागितासहित पर्थको मुटुमा नेपालको सांस्कृतिक वैभव झल्काउने तयारीलाई तीव्र बनाएको जनाएको छ।