अस्ट्रेलिया । अष्ट्रेलियाले नयाँ आर्थिक वर्ष २०२६/२७ को सुरुवातसँगै विभिन्न भिसा आवेदन शुल्कमा फेरि वृद्धि गरेको छ। जुलाई १, २०२६ देखि लागू भएको नयाँ शुल्कअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि काम गर्न पाउने टीआर (Temporary Graduate) भिसा, पर्यटक तथा दक्ष आप्रवासन (Skilled Migration) सम्बन्धी अधिकांश भिसाका आवेदन शुल्क बढेका छन्।
अष्ट्रेलियाको गृह मामिला विभाग (Department of Home Affairs) ले सार्वजनिक गरेको नयाँ शुल्कअनुसार अब विद्यार्थी भिसा (Subclass 500) को आवेदन शुल्क २,००० डलरबाट २,५०० अस्ट्रेलियन डलर पुगेको छ। यसअघि सन् २०२४ मा ७१० डलरबाट एकैपटक १,६०० डलर र त्यसपछि २,००० डलर पुर्याइएको विद्यार्थी भिसा शुल्क अब फेरि बढाइएको हो। यसले अष्ट्रेलियामा अध्ययन गर्ने योजना बनाइरहेका नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप आर्थिक भार पर्ने भएको छ।
यस्तै, अध्ययन पूरा गरेपछि अस्ट्रेलियामा केही समय बस्न र काम गर्न पाइने Temporary Graduate Visa (Subclass 485) अर्थात् टीआर भिसाको आवेदन शुल्क पनि ४,६०० डलरबाट बढाएर ५,७५० डलर पुर्याइएको छ। यो वृद्धिसँगै अध्ययनपछि रोजगारीको अनुभव लिन चाहने विद्यार्थीले अब पहिलेभन्दा धेरै खर्च गर्नुपर्ने भएको छ।
पर्यटक भिसामा पनि शुल्क वृद्धि गरिएको छ। अष्ट्रेलिया बाहिरबाट आवेदन दिने Visitor Visa (Subclass 600) को शुल्क २०० डलरबाट २५० डलर पुगेको छ भने अष्ट्रेलियाभित्रैबाट आवेदन दिँदा लाग्ने शुल्क ५०० डलरबाट ६३० डलर बनाइएको छ।

दक्ष आप्रवासनअन्तर्गतका प्रमुख भिसाहरूको शुल्क पनि बढाइएको छ। Skills in Demand (Subclass 482) को आवेदन शुल्क ४,०१५ डलर, Skilled Independent (Subclass 189) को ६,१३५ डलर, Employer Nomination Scheme (Subclass 186), Skilled Nominated (Subclass 190) र Skilled Work Regional (Subclass 491) का लागि ६,१४० डलर निर्धारण गरिएको छ। पारिवारिक पुनर्मिलनअन्तर्गत पर्ने Partner Visa (Subclass 820/801, 309/100 र 300) को आवेदन शुल्क पनि उल्लेखनीय रूपमा बढेको छ। यसअघि ९,३६५ डलर रहेको शुल्क अब ११,७१० डलर पुगेको छ, जसले पार्टनर भिसा आवेदन गर्ने दम्पतीलाई पनि थप आर्थिक भार पर्ने भएको छ।
‘शुल्क बढेकाले योजना बनाएर मात्रै आवेदन दिनुहोस्’
यस विषयमा Export Education and Visa Services, Adelaide का निर्देशक तथा Registered Migration Agent रूपक बर्तौला ले सरकारले हरेक वर्ष नयाँ आर्थिक वर्षसँगै अधिकांश भिसाको आवेदन शुल्क परिमार्जन गर्ने अभ्यासलाई यस वर्ष पनि निरन्तरता दिएको बताए। उनका अनुसार यस पटक विशेषगरी विद्यार्थी, टीआर, पार्टनर तथा स्किल्ड भिसामा उल्लेखनीय वृद्धि भएको छ।
“अष्ट्रेलिया आउने वा यहाँबाट विभिन्न भिसामा आवेदन दिने योजनामा हुनुहुन्छ भने नयाँ शुल्कबारे जानकारी लिएर मात्रै प्रक्रिया अघि बढाउनु आवश्यक छ। शुल्क बढेकाले आर्थिक तयारी पनि त्यसअनुसार गर्नुपर्छ,” बर्तौलाले भने।
उनले आवेदन दिने क्रममा आधिकारिक जानकारीलाई प्राथमिकता दिन, आवश्यक कागजात समयमै तयार गर्न तथा दर्तावाला माइग्रेसन एजेन्टसँग परामर्श गरेर मात्र प्रक्रिया अघि बढाउन पनि सुझाव दिए।
अष्ट्रेलिया सरकारले पछिल्ला केही वर्षदेखि आप्रवासन प्रणालीलाई थप व्यवस्थित, दिगो र गुणस्तरीय बनाउने नीति लिँदै आएको छ। सोही नीतिअन्तर्गत भिसा शुल्क वृद्धि, आवेदन प्रक्रियामा कडाइ, अंग्रेजी भाषाको मापदण्डमा सुधार तथा अन्तर्राष्ट्रिय विद्यार्थीसम्बन्धी नियमहरू पनि क्रमशः परिवर्तन हुँदै आएका छन्।
नयाँ शुल्क जुलाई १, २०२६ वा त्यसपछि दर्ता हुने सबै नयाँ भिसा आवेदनमा लागू भइसकेको छ। त्यसैले अष्ट्रेलियामा अध्ययन, रोजगारी, स्थायी बसोबास वा भ्रमणको योजना बनाइरहेका नेपालीहरूले आवेदनअघि अद्यावधिक शुल्क अनिवार्य रूपमा जाँच गर्नुपर्ने भएको छ।


तपाइँको प्रतिक्रीया