२०८३ असार १७ बुधबार

युवा पुस्ताको विद्रोह र परिवर्तनको कथा बोकेको ‘बिगुल’ एडिलेडमा,समुदायलाई सहभागी हुन आग्रह

  • admin २०८३ असार १७ बुधबार

एडिलेड । नेपालमा चर्चा बटुलेको नेपाली राजनीतिक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘बिगुल’ अब दक्षिण अस्ट्रेलियाको एडिलेडमा पनि विशेष प्रदर्शन हुने भएको छ। १० जुलाई २०२६ (शुक्रबार) साँझ ६:०० बजे केन्सिङ्टन पार्कस्थित द रिगल थिएटरमा चलचित्रको विशेष प्रिमियर आयोजना गरिने भएको हो।

नेपालको समकालीन राजनीतिक यथार्थ, सुशासन, नेतृत्वको जिम्मेवारी, सामाजिक न्याय र भ्रष्टाचारविरुद्धको आवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘बिगुल’ले नेपालमा प्रदर्शनका क्रममा सकारात्मक प्रतिक्रिया पाएको थियो। त्यसपछि अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा सम्पन्न विशेष प्रदर्शनमा पनि नेपाली दर्शकबाट चलचित्रले उल्लेखनीय प्रशंसा र साथ प्राप्त गरेको आयोजकले जनाएको छ।

चलचित्रका निर्माता तथा लेखक दिनेश कोइरालाले सिड्नी र मेलबर्नमा जस्तै एडिलेडमा पनि नेपाली समुदायले चलचित्रलाई साथ दिने विश्वास व्यक्त गर्दै सबैलाई परिवार तथा साथीभाइसँग उपस्थित हुन आग्रह गरेका छन्। उनका अनुसार ‘बिगुल’ मनोरञ्जन मात्र नभई समाज र राजनीतिप्रति सोच्न बाध्य बनाउने सशक्त चलचित्र हो। कोइराला स्वयं लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्ति हुन्। उनले आफ्नो राजनीतिक जीवनमा भोगेका अनुभव, संघर्ष, अपमान र आदर्शमाथि भएको खेलबाडबाट प्रेरित भएर ‘बिगुल’ निर्माण गरेको बताइन्छ।

चलचित्रले नेपालको ‘जेन–जी’ पुस्तामा बढ्दो राजनीतिक वितृष्णा, परिवर्तनको चाहना, भ्रष्टाचार र कुशासनविरुद्धको विद्रोही चेतनालाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। एक इमानदार राजनीतिक परिवारले भोग्नुपरेका दुःख, अन्याय र राज्य व्यवस्थाभित्रको दण्डहीनताको चित्रण चलचित्रको मुख्य आधार बनेको छ। साथै, “दण्डहीनता क्षम्य हुँदैन” भन्ने सशक्त सन्देश चलचित्रले प्रवाह गरेको छ।

चलचित्रमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा रहेकी छन्। साथै नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपानेलगायतका अनुभवी कलाकारहरूको अभिनय रहेको छ।

नेपालमा आमनिर्वाचनको पूर्वसन्ध्यामा प्रदर्शनमा आएको ‘बिगुल’ले त्यतिबेलै राजनीतिक र सांस्कृतिक वृत्तमा व्यापक चर्चा बटुलेको थियो। प्रिमियर प्रदर्शनपछि विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले चलचित्रले नेपालको वर्तमान राजनीतिक यथार्थलाई निर्भीक र प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए।

एडिलेडमा आयोजना हुने विशेष प्रदर्शनले प्रवासमा रहेका नेपाली समुदायबीच नेपाली भाषा, संस्कृति र चलचित्रप्रतिको अपनत्व अझ मजबुत बनाउने विश्वास आयोजकको छ। आयोजकले सबै नेपालीलाई परिवार, साथीभाइ र नयाँ पुस्तासहित उपस्थित भएर नेपाली चलचित्र उद्योगलाई साथ दिन आग्रह गरेका छन्।

एडिलेड प्रदर्शनका संयोजक विशाल कोइरालाका अनुसार ‘बिगुल’को विशेष प्रिमियरका लागि अनलाइन र भौतिक टिकट बिक्री छिट्टै खुला गरिनेछ। उनले टिकट सार्वजनिक हुनेबित्तिकै आफ्नो स्थान सुरक्षित गर्न तथा परिवार र साथीभाइसँग सहभागी भई नेपाली चलचित्रलाई साथ दिन सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेका छन्।

कार्यक्रम विवरण:

चलचित्र: बिगुल (विशेष प्रिमियर)
मिति: १० जुलाई २०२६, शुक्रबार
समय: साँझ ६:०० बजे
स्थान: द रिगल थिएटर, २७५ केन्सिङ्टन रोड, केन्सिङ्टन पार्क, दक्षिण अस्ट्रेलिया