एडिलेड,अष्ट्रेलिया — साउथ अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको सबैभन्दा ठूलो र प्रतिष्ठित सांस्कृतिक उत्सव ‘नेपाल महोत्सव २०२६’ आगामी २८ नोभेम्बर २०२६ (शनिबार) एडिलेडको ऐतिहासिक टोरेन्स परेड ग्राउन्ड (Torrens Parade Ground) मा आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाले शनिबार आयोजित विशेष कार्यक्रममा महोत्सवको मिति र स्थान औपचारिक रूपमा सार्वजनिक गरेको हो।
कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङले नेपाल महोत्सव सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएकाले यसको तयारीलाई समुदायमै केन्द्रित गरिने जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवलाई अझ प्रभावकारी, व्यवस्थित र सहभागितामूलक बनाउन विभिन्न तहमा परामर्श कार्यक्रम सञ्चालन गरिनेछ भने कार्यक्रमका अन्य विस्तृत पक्षहरू क्रमिक रूपमा सार्वजनिक गरिनेछन्।

यसपटक नेपाल महोत्सव सामान्य तालिकाभन्दा करिब छ महिना अगाडि आयोजना हुन लागेको छ। आगामी मार्च २०२७ मा एडिलेडमै हुने ओशियाना नेपाली स्पोर्ट्स मिटलाई मध्यनजर गर्दै महोत्सवको समय अगाडि सारिएको आयोजकले जनाएको छ।
साउथ अष्ट्रेलियामा आयोजना हुने नेपाली समुदायका कार्यक्रममध्ये नेपाल महोत्सवलाई सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ। महोत्सवमा नेपालको विविध जातजाति, भाषा, संस्कृति र भौगोलिक पहिचान झल्किने सांस्कृतिक प्रस्तुति, परम्परागत गीत–संगीत तथा नृत्य, नेपाली मौलिक परिकारका स्टल, हस्तकलाका सामग्री, सामुदायिक सूचना केन्द्र तथा बालबालिका र परिवारका लागि विविध मनोरञ्जनात्मक गतिविधि प्रमुख आकर्षण रहने संयोजक गुरुङले बताउनुभयो।
कार्यक्रममा बोल्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव सुजन अधिकारीले नेपाल महोत्सव सफल बनाउन व्यक्तिगत रूपमा तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को तर्फबाट आवश्यक सहयोग गर्न आफूहरू सधैं तयार रहेको बताउनुभयो। एनआरएनए ओशियाना क्षेत्रीय संयोजक रमेश जोशीले नेपाल महोत्सवलाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा मात्र नभई नेपाली कला, संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई अष्ट्रेलियाको मूलधार समाजसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्नुभयो।

त्यसैगरी, एनआरएनए अष्ट्रेलियाकी पूर्व महिला संयोजक तथा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले सरकारी तहबाट समेत महोत्सवका लागि आवश्यक सहयोग जुटाउन आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। एनआरएनए ओशियानाका पूर्व सहसंयोजक तथा साउथ अष्ट्रेलियाका पूर्व संयोजक अशोक केशीले सन् २०१९ को नेपाल महोत्सवको सम्पूर्ण तयारी एक महिनाभित्र सम्पन्न गर्नुपरेको अनुभव सुनाउँदै यसपटक करिब पाँच महिनाअघि नै तयारी सुरु गरिएकाले कार्यक्रम अझ व्यवस्थित, प्रभावकारी र भव्य हुने विश्वास व्यक्त गर्नुभयो।
घोषणा कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलियाका पूर्व संयोजकहरू संजय पुरी र दीपक विष्ट, एनआरएनए अष्ट्रेलियाका पूर्व सदस्य गोविन्द राना लगायत वर्तमान तथा पूर्व पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन एनआरएनए साउथ अष्ट्रेलियाका सचिव युवराज पहाडीले गर्नुभएको थियो। उहाँले नेपाल महोत्सवले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली पहिचानलाई थप मजबुत बनाउनुका साथै समुदायबीचको एकता, आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्वलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
एनआरएनए साउथ अष्ट्रेलियाले नेपाल महोत्सव २०२६ लाई नेपाली समुदायको साझा पर्वका रूपमा सफल बनाउन सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक तथा विभिन्न समुदायका अष्ट्रेलियाली नागरिकलाई समेत सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।


तपाइँको प्रतिक्रीया