एडिलेड,साउथ अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाको युथ फोरमले दक्षिण अष्ट्रेलिया प्रहरीको Road Safety Centre सँगको सहकार्यमा आयोजना गरेको निःशुल्क सामुदायिक सडक सुरक्षा सचेतना कार्यक्रम (Community Road Safety Session) शनिबार एडिलेडमा सफलतापूर्वक सम्पन्न भएको छ।

ग्रीनएकर्सस्थित नेपाल हाउस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। अष्ट्रेलियाको सडक प्रणाली, ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन तथा चालकको जिम्मेवारीबारे समुदायलाई व्यवहारिक जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा South Australia Police Road Safety Centre का प्रशिक्षक Senior Constable 1st Class Nicholas Lomman ले अष्ट्रेलियाली सडक नियम, सुरक्षित ड्राइभिङका अभ्यास, गति सीमा, ट्राफिक कानुनको पालना, दुर्घटना न्यूनीकरणका उपाय तथा दैनिक जीवनमा अपनाउनुपर्ने सडक सुरक्षासम्बन्धी विभिन्न विषयमा विस्तृत जानकारी दिनुभएको थियो।
अन्तरक्रियात्मक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा सहभागीहरूले आफ्ना जिज्ञासा तथा अनुभवहरू राखेका थिए। प्रशिक्षक लोमनले सहभागीका प्रश्नहरूको जवाफ दिँदै अष्ट्रेलियाको सडकमा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न आवश्यक व्यवहारिक पक्षहरूबारे स्पष्ट जानकारी गराउनुभएको थियो। कार्यक्रमले विशेषगरी नयाँ चालक, विद्यार्थी तथा नेपाली समुदायका सदस्यहरूलाई अष्ट्रेलियाको सडक प्रणालीबारे थप बुझ्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको समापनमा एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङ र युथ फोरम संयोजक संगम पाण्डेले प्रशिक्षक Senior Constable 1st Class Nicholas Lomman लाई नेपाली समुदायको तर्फबाट मायाको चिनो प्रदान गर्दै उहाँको समय, विशेषज्ञता र समुदायप्रतिको योगदानप्रति सम्मान व्यक्त गर्नुभएको थियो।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै एनआरएनए साउथ अष्ट्रेलियाका युथ फोरम संयोजक संगम पाण्डेले यस्ता कार्यक्रमले नेपाली समुदायमा सडक सुरक्षा सम्बन्धी सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “अष्ट्रेलियामा सुरक्षित रूपमा सवारी सञ्चालन गर्न स्थानीय सडक नियमको सही ज्ञान अत्यन्त आवश्यक छ। यही आवश्यकतालाई ध्यानमा राखेर हामीले यो कार्यक्रम आयोजना गरेका हौं। समुदायको उत्साहजनक सहभागिता र South Australia Police को सहयोगले कार्यक्रम निकै प्रभावकारी बन्यो। आगामी दिनमा पनि समुदायलाई उपयोगी हुने यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं।”

त्यसैगरी, एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक थिर गुरुङले समुदायको सुरक्षासँग जोडिएका विषयलाई संस्थाले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नेपाली समुदायलाई अष्ट्रेलियाली समाजसँग अझ जिम्मेवार र सुरक्षित रूपमा घुलमिल हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
आयोजकका अनुसार आगामी दिनमा पनि नेपाली समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर सडक सुरक्षा, कानुनी सचेतना तथा अन्य सामाजिक विषयमा यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछन्।


तपाइँको प्रतिक्रीया